अनुसूचित जातिको पहिलो राष्ट्रिय महाधिवेशनमा सिक्किमको सहभागिता
जातीय एकता हाम्रो लक्ष्य हुनुपर्छ: फिरोज लोहागुण
२४ दिसम्बर : गान्तोक :
दार्जीलिङ जिल्लाअन्तर्गत सुकुनाको खेल मैदानमा आइतबार सम्पन्न अनुसूचित जातिको पहिलो राष्ट्रिय महाधिवेशनमा सिक्किमले पनि सहभागिता जनाएको छ । अनुसूचित जाति संयुक्त मन्चले आयोजना गरेको पहिलो राष्ट्रिय महाधिवेशनमा दार्जीलिङ पहाडी क्षेत्रसहित सिक्किम, असम अनि छिमेकी मुलुक नेपालका अनुसूचित जातिका मानिसहरू सहभागी थिए । गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनका प्रमुख अनित थापाको विशेष उपस्थिति रहेको राष्ट्रिय महाधिवेशनमा अनुसूचित जाति समुदायका मानिसहरूको राजनीतिक, सामाजिक अनि आर्थिक अधिकार र मुद्दाहरूबारे विमर्श गरिएको थियो । सिक्किमलाई प्रतिनिधित्व गर्दै राष्ट्रिय महाधिवेशनमा सहभागी बन्न पुगेका सिङताम निवासी फिरोज लोहागुणले आफ्नो सम्बोधनमा अनुसूचित जातिका मानिसहरुको हक अधिकार सुनिश्चित गर्न बाबासाहेब भीमराव अम्बेडकरले पुर्याएको योगदानको स्मरण गर्दै संगठित भएर मात्र आफ्नो राजनीतिक अनि आर्थिक अधिकार हासिल गर्न सकिने विचार व्यक्त गरे । उनले देशभरिका अनुसूचित जातिका मानिसहरूलाई भेला गरेर राष्ट्रिय महाधिवेशनको आयोजना गर्ने अनुसूचित जाति संयुक्त मन्चको पहलको सराहना गर्दै आफ्ना समुदायको हक हित र अधिकार प्राप्तिको सवालमा सिक्किमले भौगालिक सिमानालाई पन्साएर सहभागिता जनाउने दावी पनि गरे । “यो राष्ट्रिय महाधिवेशनको आयोजनाले जातीय भावना र एकतालाई दर्शाएको छ| कामी, दमाई अनि सार्की संगठित र एकबद्ध भएर अघि बढ्यौं भने समाजमा व्याप्त विभेदविरूद्ध शक्तिशाली भएर लड्न सक्छौं अनि आफ्ना राजनीतिक, सामाजिक अनि आर्थिक अधिकारहरू सम्मानजनक रूपले प्राप्त गर्न सक्छौं । जातीय एकता हाम्रो लक्ष्य हुनुपर्छ।” फिरोज लोहागुणले भने ।
Post a Comment