असम नेपाल लोक संस्कृति एवम् लोक साहित्यिक पर्यटन मितेरी पदयात्रा’को तयारी

असम नेपाल लोक संस्कृति एवम् लोक साहित्यिक पर्यटन मितेरी पदयात्रा’को तयारी

आउँदो शिवरात्री पर्व– २०८१ को पावन अवसरका सन्दर्भमा नेपाली संस्कृति सुरक्षा परिषद, असम भारतको १६ सदस्यीय टोली ठाडोभाका लोककला प्रतिष्ठान नेपालको निमन्त्रणामा चार दिवसीय पर्यटन पदयात्राका क्रममा लमजुङ आउने भएसँगै सो कार्यक्रमको तयारी थालिएको हो । असमबाट नेपाल जाने टोलीका साथमा चार दिनसम्म आयोजक प्रतिष्ठानको टोलीसँगै  रहनेछ । सो पदयात्रा सहभागी हुन आउनुहुने पाहुनाहरूलाई के कसरी व्यस्त राख्न र भ्रमणलाई उपलब्धीपूर्ण बनाउन सकिन्छ भन्ने तयारीमा आयोजक प्रतिष्ठान जुटेको छ ।
भारतबाट पदयात्रा टोलीमा सहभागी हुनुहुने व्यक्तित्वहरूमा नेससुप अध्यक्ष लीलबहादुर प्रधानको नेतृत्वमा इन्द्र चापागाई उपाध्यक्ष(चार्टर एकाउन्टेन) तथा पूर्वोत्तर भारत संयोजक, वीरेन्द्र राणा महासचिवलगायत हुनुहुन्छ ।
यसैगरी, सो टोलीका अन्य सहभागीहरूमा नेससुप, आमा मञ्चका पदाधिकारीहरू अध्यक्ष डा. दैवकीदेवी तिमसिना, महासचिवद्वय दीपा कट्टेल, सरस्वती पौडेलका साथ असमको कमलनयन संस्कृति गोष्ठीका मूल सचिव तथा पत्रकार अनुप शर्मासमेत सहभागी रहनुहुने जानकारी प्राप्त भएको छ ।
३५ जिल्लामा छरिएर रहेको असम प्रान्तमा नेपाली संस्कृतिका धरोहरकारुपमा रहनुभएका आधाधर्ती ओगट्नु भएका मातृशक्तिको समेत भ्रमण दलमा उल्लेख्य सहभागिता हुने जानकारी पाउँदा आयोजक टिम थप उत्साहित भएको छ ।
निर्धारित कार्यक्रम अनुसार नेपालमा पदयात्राका लागि आउने असमको टोलीलाई फागुन ११ गते तदनुसार फेब्रुअरी २३ तारिखका दिन विहान गोरखा जिल्लाको सदरमुकाम गोरखा बजारमा प्रतिष्ठानको टोलीले स्वागत गर्नेछ । गोरखकाली माता र बाबा गोरखनाथको दर्शन, ऐतिहासिक गोरखा दरबारको अवलोकन गरी टोली लमजुङको राइनास नगरपालिका– ९ को राइनासकोटका लागि प्रस्थान गर्नेछ ।
राइनासकोटको प्राकृतिक भ्यूटावर तथा वीरभक्ति थापा पार्क(निर्माणाधिन)को अवलोकन एवम् दृश्यावलोकन गर्ने, साँझ सोही वडा स्थित बगुवा गाउँमा गुरुङ संस्कृतिबाट मनोरञ्जन प्रदान गराइने छ । त्यो कार्यक्रमले मनोरञ्जन मात्र दिने नभई नेपाली लोक संस्कृतिको धरातल, महत्व एवम् गरिमा के कति रहेछ भन्ने अन्वेषणको समेत प्राप्त हुनेछ ।
दोस्रो दिन विहान निर्माणाधिन धर्मनाथ धाम(राइनास नगरपालिका– ८) मा तीर्थाटनपछि साहित्यिक गोष्ठी हुनेछ । सो कार्यक्रममा स्थानीय राइनास नगरपालिकाका मेयर खड्गबहादुर गुरुङको प्रमुख आतिथ्यतामा हुनेछ भने उपमेयर पुष्पराज खनाल र प्रमुख प्रशासकीय अधिकृतिको विशेष आतिथ्यता रहनेछ ।
सोही दिन लमजुङको ऐतिहासिक स्थल दुराडाँडा– जहाँ आजभन्दा ७० वर्ष अघि राणा शासनकालमा ब्राह्मणहरूले हलो जोतेर एकसाथ सामाजिक(जातीय विभेद), शैक्षिक, आर्थिक एवम् राजनीतिक(प्रजातन्त्रका लागि) अभियानको श्रीगणेश गरिएको स्थलको अवलोकन गरिने छ । दुराडाँडामै रहेका गुरुकुल आश्रमको अवलोकन, खजे दुरा पार्कको दृश्यावलोकन गर्दै ऐतिहासिक स्थल तुर्लुङकोट गढीको अवलोकन गरिनेछ । दुरा जातिको उद्गम स्थल तुर्लुङकोटमा साँझमा दुरा संस्कृतिका नाच, दोहोरी गीत र ठाडोभाकाबाट मनोरञ्जन गराइनेछ ।
यसैगरी, तेस्रो दिन मध्यनेपाल नगरपालिका– २ को तान्द्राङ टक्सार क्षेत्रमा रहेका पुरातात्विक महत्वका स्थलको अवलोकन, साँझ गुरुङ सांस्कृतिक कार्यक्रमका साथै दोहोरी गीत प्रस्तुत हुनेछ । सो स्थानमा पदयात्राको स्वागतका लागि विभिन्न समिति समेत गठन गरेर स्वागत सत्कारका कार्यको व्यवस्थापनमा गाउँलेहरू तयारीमा जुटेको सो स्थानमा रहेको बाल विकास माविका शिक्षक शिवराज खनालले जानकारी दिनुभएको छ ।
चौथो दिन अर्थात महाशिवरात्रीका दिनमा सोही नगरपालिका– ४ मा रहेको घाँसीकुवा, भानु– घाँसी संवादपार्क तथा निर्माणाधिन मध्यनेपाल स्तम्भको अलोकन गरी करापुटार मेलामा पुग्ने छ । सो स्थान स्थित ईशानेश्वर महादेव मन्दिर जसलाई सन्तानेश्वर महादेव पनि भनिन्छ– को दर्शन कार्य हुनेछ । ईशानेश्वर महादेवलाई नेपालमा पशुपतिनाथ पछिको दोस्रो शक्तिशाली देवताका रुपमा पुज्ने गरिन्छ ।
सो दिन दिउँसो कवि गोष्ठीका साथमा पात बजाउने प्रतियोगिता हुनेछ । उक्त कार्यक्रममा गण्डकी प्रदेशका कुनै एक मन्त्रीबाट उदघाटन गराउन तयारी छ । सो कार्यक्रममा सोही नगरपालिकाका मेयर रमेतकुमार पाण्डे, उपमेयर सीता गुरुङको विशेष आतिथ्यता तथा वडाध्यक्षहरूका साथ संस्कृति एवम् साहित्यकर्मीहरूको सहभागिता रहनेछ । कवि गोष्ठीमा बालकविले समेत भाग लिने छन् ।  
हरेक वर्ष शिवरात्रीको दिनमा उक्त मन्दिर परिसरमा ठाडाबत्ती बाल्ने र बसेर बत्ती बाल्नेहरू भक्तजनहरूको भिड लाग्ने गर्दछ । विवाहको लामो समयसम्म सन्तान नहुनेहरूले सदम्पत्ती मन्दिर परिसरमा रातभर जागा भई ठाडाबत्ती बालेमा सन्तान हुन्छ भन्ने मान्यता रहेको रहेको छ । त्यसरी सन्तान जन्माएकोहरूले आफ्ना छोराछोरी २– ३ वर्ष भएपछि देखाउने ल्याउनेहरूको संख्या पनि उत्तिकै भेटिन्छ । रातको समयमा त्यसरी बत्ती बाल्नेहरूको निद्रा भगाउन, उनीहरूलाई रात बिताउन सहजता होस् भन्नका लागि तीर्थालु भक्तजनहरूलाई मनोरञ्जन प्रदान सहित लोकसंस्कृतिको जगेर्ना गर्नका लागि रातभर ठाडोभाका गाउने पुरानो प्रचलन हो÷थियो । लमजुङको पहिचान र गौरवका रुपमा रहेको ठाडोभाकाको प्रचार नै सोही मेलाबाट भएको हो । जो सशस्त्र द्वन्द्वकाल र कोभिडका कारणले रातभर गीत गाउने त्यो परम्परा हराएको थियो, त्यस कार्यक्रमलाई पछिल्ला तीन वर्षदेखि यसै प्रतिष्ठानको संयोजनमा रातभर ठाडोभाका गाउने कार्यक्रम सञ्चालन हुँदै आएको छ । त्यो कार्यक्रमलाई सोही दिन साँझ पनि निरन्तरता दिदै ठाडोभाका गाउने तयारी छ ।
नेपालमा लोकसंस्कृतिका क्षेत्रमा धनी थोरै जिल्लामा लमजुङ गणना पर्दछ । लमजुङ जिल्ला मूलतः गुरुङ जाति र दुरा जातिको उदगम स्थल हो । यस जिल्लामा मगर, नेवार, कुमाल, भुजेल जातिको बासोबासका साथ ती जातिको संस्कृति समेत पाइन्छ । त्यतिमात्र नभई नेपालका राष्ट्रकवि स्व. माधवप्रसाद घिमिरेलाई जन्माउने जिल्ला पनि हो लमजुङ। पछिल्ला वर्षमा ग्रामीण पर्यटनको हव बनिरहेको लमजुङमा पाइने लोकसंस्कृति र लोकसाहित्य (प्रायः श्रुति रुपमा रहेको), कतिपय लोकसंस्कृति र लोकसाहित्य लोप भइसकेको छ र कति लोप हुने अवस्थामा पुगेका छन् ।
महाशिवरात्रीका अवसरमा आयोजना गरिएको ‘पात बजाउने’ प्रतियोगिता हुने भएकाले गण्डकी प्रदेशका वन तथा वातावरणमन्त्री एवम् प्रतिष्ठानका सल्लाहकार भेषबहादुर पौडेलबाट सो दिन दिउँसो कवि गोष्ठीका साथमा पात बजाउने प्रतियोगिताको उदघाटन गराउने तयारी छ । नेपाल र नेपालीको पहिचानका रुपमा रहेका यस्ता प्रकृति प्रदत्त सम्पदाको खोज, अनुसन्धान, अन्वेषण, संरक्षण एवम् प्रवर्द्धनका गर्न नितान्त जरुरी छ । सोही उद्देश्य प्राप्तिका क्षेत्रमा सहयोग गर्ने र केही इटा थप्ने अभिप्रायका साथ २०७२ सालको माघ महिनामा ठाडोभाका लोककला प्रतिष्ठान नेपालको स्थापना भएको हो ।
प्रतिष्ठानले स्थापनाकालदेखि नै आफ्नो लक्ष्य प्राप्तिका लागि दत्तचित्त भएर ठाडोभाकाको प्रशिक्षण, प्रस्तुति, प्रतियोगिता, कार्यक्रमको युटुभ निर्माण, खुला राष्ट्रिय कविता प्रतियोगिता, ब्रोसर तथा स्मारिका प्रकाशन लगायत विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।
यसअघि अन्तराष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरसँग दुई वटा साहित्यका लागि पर्यटन काव्य यात्रा समेत प्रतिष्ठानले सञ्चालन गरिसकेको छ । घोषित नेपाल – असम लोक संस्कृति एवम् लोक साहित्यिक पर्यटन मितेरी पदयात्रा करिब १२ वर्षअघि २०६९ साल तदनुसार सन् २०१३ मा असमको विश्वनाथ, कमलियामा सञ्चालन गरिएको नेपाल– असम साहित्यिक मितेरी कार्यक्रमको उपज हो भन्दा फरक परोइन । त्यस समयमा पनि उक्त मितेरी कार्यक्रमको नेपाल संयोजक यो पंक्तिकार नवराज पहाडी नै थियो भने आज पनि निर्धारित पदयात्रा कार्यक्रमको नेपालमा संयोजन कार्य पहाडीबाट भइरहेको छ ।
यी र यस्ता कार्यक्रम निरन्तरता पाउन सकेमा नेपालको लोक संस्कृति तथा लोक साहित्यले जीवन्तता पाइरहनेछ । यसप्रकार आयोजक प्रतिष्ठान र विभिन्न स्थानमा रहेका स्थानीयबासीको सहयोगले नेपाली लोक संस्कृति र साहित्यलाई दुई संस्थाहरूका बीचको आपसी मित्रता र संस्कृतिलाई झनै गाढा बनाउने छ । घोषित नेपाल – असम पर्यटन मितेरी पदयात्रा कार्यक्रमले लोक संस्कृति एवम् लोक साहित्यको इतिहासमा कोशेढुंगा सावित हुने विश्वास ठाडोभाका लोककला प्रतिष्ठानले लिएको छ ।

0 Comments

Post a Comment

Post a Comment (0)

Previous Post Next Post