मोनाबारी गाउँमा गोर्खा उन्नयन परिषद्का अध्यक्ष प्रेम तामाङद्वारा खुल्ला मञ्च अनावरण
मोनाबारी गाउँमा गोर्खा उन्नयन परिषद्का अध्यक्ष प्रेम तामाङद्वारा खुल्ला मञ्च अनावरण
मोनाबारी गाउँ, असम –
गोर्खा समुदायको सामाजिक, सांस्कृतिक तथा शैक्षिक उन्नयनका निम्ति निरन्तर क्रियाशील गोर्खा उन्नयन परिषद्ले मोनाबारी गाउँमा एक महत्वपूर्ण कार्यक्रमको आयोजना गर्दै खुल्ला मञ्चको भव्य अनावरण सम्पन्न गरेको छ।
परिषद्का अध्यक्ष प्रेम तामाङले समारोहको मुख्य अतिथिका रूपमा उक्त मञ्चको विधिवत अनावरण गर्नुभयो। यो मञ्च गाउँका सांस्कृतिक कार्यक्रम, सभा, सम्मेलन, शैक्षिक गतिविधि तथा सामाजिक समन्वयका निम्ति एक स्थायी स्थानको रूपमा निर्माण गरिएको हो।
कार्यक्रमको सञ्चालन कमलनयन संस्कृति गोष्ठीका मूल सचिव अनुप शर्माले गरिरहेका थिए। सभामा विहाली विधान सभा समष्टिका विधायक दिगन्त घाटोवारज्यूको प्रमुख आतिथ्य रहेको थियो। त्यसका साथै गोर्खा उन्नयन परिषद्का पदाधिकारी तथा विभिन्न सामाजिक क्षेत्रका प्रबुद्ध व्यक्तिहरूको गरिमामय उपस्थिति समारोहको प्रमुख आकर्षण बनेको थियो। कार्यक्रममा सहभागी प्रमुख व्यक्तित्वहरूमा:
थर्क अधिकारी, सञ्जीव छेत्री, सदस्य, गोर्खा उन्नयन परिषद् हरि शर्मा, सभापति, अगोस विश्वनाथ जिल्ला हेमन्त भट्टराई, मूल सचिव, माधव शर्मा, पूर्व सभापति
सुमन शर्मा, समाजकर्मी,दीपिका देवी साथै क्षेत्रका शिक्षाविद्, समाजसेवी, पत्रकार, युवापुस्ताका प्रतिनिधिहरू र सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।
अनावरण पश्चात बसेको सभामा अध्यक्ष प्रेम तामाङले परिषद्ले गोर्खा समाजको हकहितका लागि विगत केही वर्षदेखि गर्दै आएका प्रयासहरूबारे बिस्तारमा सम्बोधन गर्नुभयो। उहाँले आफ्नो उद्बोधनमा
“गोर्खा उन्नयन परिषद् केवल नाम होइन, यो हाम्रो पहिचानको आन्दोलन हो। शिक्षा, संस्कार, संगठन र संघर्षमार्फत हामीले आफ्नो स्थान स्थापित गर्नुपर्छ। यो मञ्च हाम्रो आवाजको प्रतीक बन्नेछ।”
उहाँले खुल्ला मञ्चलाई आगामी दिनमा युवाहरूको प्रतिभा प्रदर्शन गर्ने माध्यम, समाजका समस्या छलफल गर्ने स्थान र एकजुटताको प्रतीक बनाउने अठोट व्यक्त गर्नुभयो।
मुख्य अतिथि दिगन्त घाटोवारले पनि आफ्नो मन्तव्यमा गोर्खा समुदायको योगदानको चर्चा गर्दै, परिषद्का कार्यहरूलाई सकारात्मक दृष्टिकोणबाट हेरिनुपर्ने बताउनुभयो। उहाँले सरकारी तहबाट आवश्यक सहयोग गर्ने आश्वासनसमेत दिनुभयो।
सभामा अन्य वक्ताहरूले पनि गोर्खा समाजको ऐक्यबद्धता, सांस्कृतिक गौरव र सामाजिक उत्तरदायित्वको चर्चा गर्दै खुल्ला मञ्च निर्माणलाई एउटा महत्वपूर्ण कदमको रूपमा व्याख्या गरे।
समारोहमा स्थानीय कलाकारहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्दै वातावरणलाई थप उत्साहजनक बनाएका थिए।
खुल्ला मञ्चको उद्घाटनमार्फत मोनाबारी गाउँले सामाजिक जागरण र सांस्कृतिक चेतनाको नयाँ युगतर्फ कदम चालेको छ। गोर्खा उन्नयन परिषद्को यो कार्यले समुदायभित्र आत्मबल र समर्पणको भावना बढाएको छ।
अब यो मञ्च केवल एक संरचना नभएर गोर्खा समाजको आवाज, विचार र विकासको केन्द्र बन्ने अपेक्षा गरिएको छ।
Post a Comment