बिनिता छेत्रीले ब्रिटेन्स गट ट्यालेन्ट (BGT) २०२५ मा दोस्रो रनर-अपको उपाधि जित्दै इतिहास रचिन्
गुवाहाटी, ३१ मे २०२५ – असमको कार्बी आङ्लोङ जिल्लाको सानो शहर बोकाजनबाट आएकी, भर्खर ९ वर्ष पुगेकी बिनिता छेत्रीले ब्रिटेन्स गट ट्यालेन्ट (BGT) २०२५ को फिनालेमा तेस्रो स्थान अर्थात् दोस्रो रनर-अपको उपाधि हासिल गर्दै अन्तर्राष्ट्रिय स्तरमा गोर्खा समुदाय र भारतीय उपमहाद्वीपको गौरव बढाएकी छिन्। ३१ मे २०२५ मा बेलायतमा आयोजित यो विश्वप्रसिद्ध रियालिटी शोको ग्रान्ड फिनालेमा उनी भारतबाट फिनालेमा पुग्ने पहिलो प्रतिभागी बनेकी हुन्।
प्रतियोगितामा पहिलो स्थान बेलायती जादूगर ह्यारी मोल्डिङले जिते भने दोस्रो स्थान एलईडी नृत्य समूह "द ब्ल्याकआउट्स"ले प्राप्त गर्यो।
बिनिताको उत्कृष्ट प्रदर्शन, विशेषगरी उनका जटिल नृत्यकला—जसमा ब्याकफ्लिप जस्ता कठिन भौतिक कौशल समावेश थिए—ले निर्णायकहरू र दर्शकहरूलाई स्तब्ध तुल्यायो। निर्णायकहरूले उभिएर ताली बजाउँदै उनको प्रशंसा गरे। प्रस्तुति अघि उनले भावुक हुँदै भनिन्, “म जिते भने गुलाबी रंगको राजकुमारी घर किन्नेछु।”
बिनिताको अन्तर्राष्ट्रिय सफलताको पछाडि उनका पिता अमर छेत्रीको अथक समर्थन छ, जो असममा एक सानो ब्रायलर फर्म सञ्चालन गर्दै आइरहेका छन् र साथै जातीय दायित्व तथा सामाजिक कार्यमा सक्रिय छन्। उनी अखिल असम गोर्खा छात्र संघ (आग्सु) का कार्यकारी सदस्य तथा जिल्ला उपाध्यक्ष पनि हुन्। छोरीको प्रतिभा चिनेपछि उनले सुरुमा गुवाहाटीमा, पछि जयपुरमा नृत्य प्रशिक्षणको व्यवस्था गरे। जयपुरमा बिनिताको प्रशिक्षण उनका आमाको बहिनी अमृता देवी र चर्चित नृत्य प्रशिक्षक हार्दिक रावतको मार्गदर्शनमा हुँदै आएको हो।
‘ग्लोबल भोटिङ खुला भएको भए नतिजा फरक हुन सक्थ्यो’
बिनिताको अन्तर्राष्ट्रिय लोकप्रियताले भारत, नेपाल, भूटान र सम्पूर्ण एशियाली समुदायमा ठूलो चर्चा पाएको छ। तर फिनालेको मतदान केवल युकेमा सीमित भएपछि धेरै दर्शकहरू उनलाई भोट गर्नबाट वञ्चित भए।
यस विषयमा BGT बिनिता छेत्री समर्थन समूहका संयोजक तथा वरिष्ठ पत्रकार नन्द किराती देवानले भने,
“यदि फिनालेका लागि भोटिङ लाइनहरू विश्वभरिबाट खुला गरिएका भए—विशेषगरी भारत, नेपाल, भूटान तथा अन्य एशियाली मुलुकहरूका दर्शकहरूले भोट गर्न पाएको भए—बिनिता छेत्रीलाई व्यापक समर्थन मिल्थ्यो। उनी BGT25 को ताज नजिकै पुग्न सक्ने थिइन्।”
उनका अनुसार, फिनाले अघिल्लो एक हप्तामै भारतभरिबाट २०,००० भन्दा बढी मिस्ड कलहरू आएको थियो, जसमा दर्शकहरूले भारतबाट कसरी भोट गर्ने भन्नेबारे जानकारी मागिरहेका थिए।
राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रशंसा -
बिनिताको सफलताप्रति असमका मुख्यमन्त्री डा. हिमन्त विश्व शर्माले ट्विटरमार्फत भिडियो सेयर गर्दै गर्व व्यक्त गरेका छन्। त्यस्तै, प्रसिद्ध उद्योगपति आनन्द महिन्द्राले बिनितालाई "विश्वस्तरीय प्रतिभा" र "इच्छाशक्ति भएकी सच्ची कलाकार" भनी प्रशंसा गरेका थिए।
यस यात्रामा बिनिता सेमिफाइनल चरणमा गोल्डेन बजर नपाउँदा केही विवाद पनि देखिएको थियो। तथापि, उनले जनताको भोटबाट फिनालेमा स्थान सुरक्षित गरिन्, जसले उनको प्रतिभा र अडानलाई उजागर गर्दछ।
विश्वभरबाट प्राप्त समर्थनप्रति आभार -
ब्रिटेन्स गट ट्यालेन्ट २०२५ को फिनालेमा दोस्रो रनर-अपको उपाधि प्राप्त गरेकी बोकाजनकी बिनिता छेत्रीले उक्त रियालिटी शोको आधिकारिक सामाजिक सञ्जालमा पोस्ट गरिएको एक भिडियोमार्फत विश्वभरिबाट प्राप्त समर्थनप्रति आभार प्रकट गरेकी छिन्।
आफ्नो समर्थन समूह र सामाजिक सञ्जालमार्फत प्राप्त प्रोत्साहनका लागि उनले धन्यवाद दिँदै विशेषगरी संयुक्त अधिराज्य (UK) का दर्शकहरूलाई आफूलाई भोट गरी आशीर्वाद दिएकोमा हार्दिक कृतज्ञता व्यक्त गरिन्। साथै, भारतीय उपमहाद्वीप—विशेषतः भारत, नेपाल, भूटान र अन्य एशियाली मुलुकहरूबाट प्राप्त समर्थनले आफूलाई अन्तर्राष्ट्रिय मञ्चमा अगाडि बढ्न ऊर्जा दिएको बताइन्। उनले विशेष रूपमा भारतका आफ्ना देशवासीप्रति कृतज्ञता प्रकट गरिन्।
‘म हाम्रा मुख्यमन्त्री हिमन्त मामालाई भेट्न चाहन्छु’
धन्यवाद सन्देशमा उनले असमका मुख्यमन्त्री डा. हिमन्त विश्व शर्माप्रति विशेष कृतज्ञता प्रकट गर्दै भनिन्।
बिनिताले आफ्नो यात्रामा कार्बी आङ्लोङ स्वायत्त परिषद् (KAAC) का मुख्य कार्यकारी सदस्य डा. तुलिराम रङहङ्गबाट प्राप्त सहयोगलाई समेत स्मरण गरिन्। फिनालेको तयारीका लागि KAAC ले रु. ५ लाख नगद सहयोग प्रदान गरेको थियो। त्यस्तै, उनले स्थानिय विधायक तथा असम विधानसभाका उपसभामुख डा. नुमल मोमिनले विगत एक वर्षदेखि प्रदान गर्दै आएको निरन्तर समर्थन र मार्गदर्शनप्रति पनि आभार व्यक्त गरिन्।
प्रेरणाको प्रतीक बिनिता -
बोकाजनको एउटा सानो गाउँबाट बेलायतको भव्य मञ्चसम्मको बिनिता छेत्रीको यात्रा सपना, समर्पण, संघर्ष र आत्मबलको प्रेरणादायी उदाहरण बनेको छ। उनले सिर्जना गरेको इतिहासले भविष्यमा धेरै युवाहरूलाई प्रेरित गर्नेछ।
Post a Comment