गाउँमै बसेर खेतीबाट आत्मनिर्भर बने गोर्खे युवा खेमराज बस्नेत
देशका धेरै युवाहरू विदेश पलायन भइरहेको अवस्थामा जामगुरी हाटका खेमराज बस्नेतले गाउँमै बसेर आत्मनिर्भर बन्ने प्रेरणादायी उदाहरण प्रस्तुत गरेका छन्। दस वर्षअघि रोजगारीको खोजीमा भारतको बेङ्गलोर पुगेका खेमराजले गाउँको माटोसँगको लगावले विदेशमा लामो समय टिक्न सकेनन्। गाउँ फर्किएपछि उनले खेती व्यवसायलाई जीवनको आधार बनाएर सफलताको नयाँ कहानी लेखेका छन्।
गाउँ फर्किएपछि खेमराजले आधुनिक कृषि विधिहरू अपनाउँदै १०० बिघा जमिनमा मकै, धान, तरकारी, र फलफूल खेती गर्न थाले। आधुनिक प्रविधिको प्रयोग र मेहनतको परिणामस्वरूप उनले कृषि व्यवसायबाट राम्रो आम्दानी गर्न थालेका छन्। उनले भने, “विदेशमा श्रम गर्नुभन्दा आफ्नै गाउँमा पसिना बगाउनु धेरै अर्थपूर्ण छ। यो मेरो मात्र होइन, देशको विकासका लागि पनि महत्त्वपूर्ण छ।”
एक वर्षमा करिब १० लाख रुपैयाँ आम्दानी गर्न सफल भएका खेमराजको प्रयासले गाउँका अन्य युवाहरूलाई पनि विदेश जानुको सट्टा आफ्नै गाउँमा रोजगारी सिर्जना गर्न प्रेरित गरेको छ। उनले भने, “गाउँमै बसेर मेहनत गरे सफलता हात पार्न सकिन्छ। मेरो यो प्रयासले अरू युवालाई पनि प्रेरित गर्ने विश्वास छ।”
विदेश जानुपर्ने बाध्यता घटाउन र गाउँमा रोजगारीका अवसरहरू सिर्जना गर्न खेमराज जस्ता युवाको प्रयासले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। उनका अनुसार सरकारले कृषिमा लगानी बढाउन सके युवाहरूलाई विदेश जानु पर्ने अवस्था हट्न सक्छ।
खेमराज बस्नेत गाउँमै बसेर मेहनत र लगनशीलताका साथ कृषि व्यवसाय गरेर देशभरका युवाहरूको लागि प्रेरणादायी पात्र बनेका छन्। “गाउँमै केही गर्न सकिन्छ” भन्ने नारालाई सार्थक बनाउँदै उनले आफ्नो मात्र होइन, गाउँकै आर्थिक विकासमा योगदान पुर्याएका छन्।
खेमराज बस्नेतको यो सफलताले देशका अन्य गाउँका युवालाई पनि विदेश जानुको सट्टा आफ्नै गाउँ र माटोमा मेहनत गर्न प्रेरित गर्ने अपेक्षा गरिएको छ।
Post a Comment