भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको निधन
भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको निधनले देशलाई गहिरो शोकमा डुबाएको छ। उहाँको निधन दिल्लीको एम्स अस्पतालमा उपचारका क्रममा भएको हो। निधनको समयमा उहाँ ९२ वर्षका हुनुहुन्थ्यो। जीवनभर देशको सेवामा समर्पित डा. सिंहको योगदान अमूल्य रहेको छ। एक अर्थशास्त्री, प्रशासक, र राजनीतिज्ञका रूपमा उनले भारतलाई विश्वको प्रमुख अर्थतन्त्र बनाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए।
डा. मनमोहन सिंहको जन्म २६ सेप्टेम्बर १९३२ मा गाह गावँमा भएको थियो। डा. सिंहले क्याम्ब्रिज र अक्सफोर्ड विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गर्नुभयो। उहाँले आफ्नो कार्यक्षेत्रको सुरुवात अर्थशास्त्रीका रूपमा गर्नुभएको थियो। सन् १९९१ मा भारतमा भएको आर्थिक संकटको समयमा उहाँले अर्थमन्त्रीका रूपमा भारतमा आर्थिक सुधारको ऐतिहासिक कदम चालेका थिए।
प्रधानमन्त्रीका रूपमा सन् २००४ देखि २०१४ सम्म उहाँले भारतको नेतृत्व गर्नुभयो। उहाँको कार्यकालमा देशले आर्थिक क्षेत्र, शिक्षा, र सामाजिक न्यायमा उल्लेखनीय प्रगति गरेको थियो। "मनरेगा" जस्ता कार्यक्रमहरू गरीब वर्गको उत्थानका लागि प्रभावकारी सावित भए। उहाँको नेतृत्वले भारतलाई विश्व मञ्चमा एक शक्तिशाली राष्ट्रकारूपमा स्थापित गर्यो।
डा. सिंह आफ्नो सरल जीवनशैली र इमानदार छविका लागि प्रसिद्ध थिए। उनी राजनीतिमा रहँदा पनि आफ्नो विद्वता र नीति निर्माण क्षमताको लागि सम्मानित व्यक्तित्व थिए। उहाँले आफ्नो जीवनमा कहिल्यै कुनै विवादास्पद टिप्पणी गर्नुभएन। सबै धर्म, जाति, र वर्गप्रति समान दृष्टिकोण राख्ने उहाँको व्यक्तित्वले सबैलाई प्रेरित गर्यो।
उनको निधनले भारतले एक असल नेतासँगै एक आदर्श नागरिकलाई गुमाएको छ। देशले एउटा विद्वान् र अनुभवी मार्गदर्शकलाई गुमाएको महसुस गरिरहेको छ। डा. सिंहको योगदान सधैँ स्मरणीय रहनेछ। उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्दै हामी उहाँको आत्माको चिरशान्तिको कामना गर्दछौँ।
जन्म: २६ सेप्टेम्बर १९३२
सन् १९८२ सेप्टेम्बर १६ मा भारतीय रिजर्भ बैंकको गभर्नरमा नियुक्त।
सन् १९९१ अक्टोबर १ देखि २०१९ जुन १४ सम्म असमबाट राज्यसभाका सांसदका रूपमा निर्वाचित।
सन् १९९१ जुन २१ देखि १९९६ मे १६ सम्म पी. भी. नरसिंह रावको मन्त्रिपरिषद्को केन्द्रीय अर्थमन्त्रीका रूपमा जिम्मेवारी निर्वाह।
सन् १९९८ मार्च २१ देखि २००४ मे २१ सम्म राज्यसभामा विपक्षी दलको नेताका रूपमा जिम्मेवारी।
सन् २००४ मे २२ देखि २०१४ मे २६ सम्म भारतका प्रधानमन्त्रीका रूपमा कार्यभार।
सन् २०२४ डिसेम्बर २६ मा दिल्लीको एम्स अस्पतालमा ९२ वर्षको उमेरमा निधन ।
Post a Comment