भारतीय गोर्खा परिसंघले शहिद स्मारक क्षेत्र उद्घाटनमा असम आन्दोलनका शहिदहरूलाई श्रद्धाञ्जली अर्पण गर्यो
गुवाहाटी, डिसेम्बर १०
राष्ट्रभरिका गोर्खाहरूको तर्फबाट भारतका गोर्खाहरूको राष्ट्रिय सामाजिक संगठन भारतीय गोर्खा परिसंघ (BGP) ले आज पश्चिम बोरागाँव, गुवाहाटीस्थित भव्य शहिद स्मारक क्षेत्र (Swahid Smarak Kshetra) को उद्घाटन समारोहमा असम आन्दोलनका ८६० शहिद लगायत छ जना गोर्खा शहिद लाई श्रद्धाञ्जली अर्पण गर्यो।
परिसंघको प्रतिनिधिमण्डलले शहिद ज्योतिमा पुष्पाञ्जली अर्पण गर्दै शहिदहरूको अर्धप्रतिमाहरू राखिँदै गरेको स्मारक क्षेत्रका विभिन्न भागहरू अवलोकन गर्यो।
मिडिया कर्मीसँग कुरा गर्दै भा गो प असमका मूलसचिव नन्द किराती देवान ले असम आन्दोलनमा गोर्खा जातिका शहिदहरूको योगदान स्मरण गरे।
“खर्गेश्वर तलुकदारको आत्म बलिदान देखि शुरू हुने असम आन्दोलनका ८६० शहिदहरूका साथसाथै म गोर्खा जातिका शहिदहरू असम आन्दोलनकी पहिलो महिला शहिद बैजन्ती देवी, तथा भीम बहादुर तामाङ, धन बहादुर क्षेत्री, खिरोद बहादुर तामाङ, कुल बहादुर क्षेत्री र पद्म बहादुर क्षेत्री लाई स्मरण गर्न चाहन्छु। यी सबैले असम राज्यका लागि सर्वोच्च बलिदान दिए,” देवानले बताए।
उहाँले शहिदहरूको तस्वीर सुरक्षित भएपछि गोर्खा शहिदसहित सबैका अर्धप्रतिमा स्थापना गरिने जानकारी पाएर परिसंघ खुशी भएको उल्लेख गरे। “यस भव्य शहिद स्मारकको उद्घाटनको साक्षी बन्नु गौरवको विषय हो। यो स्मारक क्षेत्रले पुस्तौँलाई प्रेरणा दिनेछ र असम इतिहासमा एक महत्वपूर्ण माइल खुटीको रूपमा रहिरहनेछ,” उहाँले जोड दिनुभयो।
देवानले २०१९ मा शिलान्यास गर्ने तत्कालीन मुख्यमन्त्री सर्वानन्दा सोनोवाल तथा आज स्मारक उद्घाटन गर्ने मुख्यमन्त्री हिमन्त विश्व शर्मा प्रतिको कृतज्ञता पनि व्यक्त गरे।
११६ विघा क्षेत्रफलमा प्राय १८० करोड रुपैयाँ लागतमा निर्माण गरिएको शहिद स्मारक क्षेत्रको उद्घाटन शहिद दिवस को केन्द्रीय आयोजनासँगै सम्पन्न भयो। स्मारकमा २२५ फिट अग्लो मुख्य संरचना, ८६० अर्धप्रतिमा, ध्यान तथा योग केन्द्र, अडिटोरियम, लेजर शो एरिना, बगैँचा, फुड कोर्ट र साइकल ट्र्याक जस्ता सुविधा समावेश छन्।
उद्घाटन अघिल्लो साँझ मुख्यमन्त्री शर्माले शहिदहरूको सम्मानमा जलिरहने ‘शहिद प्रणाम ज्योति’ प्रज्वलित गरे र आन्दोलनमा ज्यान दिएको प्रतीकस्वरूप ८६० माटाका दियो बालिएको थियो। समारोहमा वर्तमान केन्द्रीय मन्त्री सर्वानन्दा सोनोवाल, मन्त्रीहरू क्रमश अतुल बोरा, चन्द्र मोहन पात्रोवरी, केसव महन्त, पियुष हजारिका लगायत अन्य विशिष्ट व्यक्तिहरू उपस्थित थिए।
परिसंघको प्रतिनिधिमण्डलमा राष्ट्रिय उपाध्यक्ष याम प्रसाद घिमिरे, उत्तर–पूर्व क्षेत्रीय अध्यक्ष डा. दिलीप छेत्री, असम राज्य समितिका अध्यक्ष अमर अधिकारी, राष्ट्रिय साङ्गठनिक सचिव बिमल प्रधान, असम प्रदेश मूलसचिव नन्द किराती देवान, महिला परिसंघ नेतृ सविता घिमिरे, शितल अधिकारी लगायत अन्य सदस्यहरूको सहभागिता रहेको थियो।
Post a Comment