विश्वनाथमा जनकवि हरिभक्त कटुवालको ९२औँ जन्मजयन्ती भव्य रूपमा सम्पन्न

विश्वनाथमा जनकवि हरिभक्त कटुवालको ९२औँ जन्मजयन्ती भव्य रूपमा सम्पन्न, ‘युगाग्रगामी’ राष्ट्रिय ग्रन्थ लोकार्पण

विश्वनाथ चारआली, असार १८ 
 युगाग्रगामी प्रकाशन समूह तथा विश्वनाथ नगर शाखा, नेपाली साहित्य सभाको संयुक्त आयोजनामा जनकवि तथा गीतकार हरिभक्त कटुवालको ९२औँ जन्मजयन्ती विविध साहित्यिक तथा सांस्कृतिक कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न भएको छ।

विश्वनाथ ज्ञान भारती विद्यालयमा आयोजित कार्यक्रममा अवकाशप्राप्त चिकित्सक तथा साहित्यकार डा. जमदग्नि उपाध्यायको अध्यक्षता रहेको थियो भने विश्वनाथ जिल्ला नेपाली साहित्य सभाका पूर्वअध्यक्ष हेमकुमार गौतमले स्वागत मन्तव्य व्यक्त गरेका थिए।

प्रेम विश्वकर्मा, पूर्णिमा पोखरेल, दीपिका उपाध्याय, चित्र पौडेल, कल्पना छेत्री, सुरेश लुइँटेल, कुमार बराल, शीला गौतम, कविता देवी र राधिका देवीको समूहले समवेत गीत प्रस्तुत गरी कार्यक्रमको वातावरणलाई थप उल्लासमय बनाएको थियो।

विश्वनाथ कृषि महाविद्यालयका अवकाशप्राप्त वरिष्ठ प्राध्यापक तथा विश्वनाथ नगर शाखा नेपाली साहित्य सभाका अध्यक्ष डा. भक्तप्रसाद गौतमले सञ्चालन गरेको कार्यक्रममा जनकवि हरिभक्त कटुवालको तस्बिरमा दीप प्रज्वलन तथा पुष्पाञ्जली अर्पण गरिएको थियो। त्यसपछि विशिष्ट अनुसन्धानकर्ता तथा साहित्यकार डा. क्षेमराज नेपालले जनकवि कटुवालको जीवन, व्यक्तित्व, साहित्यिक योगदान र नेपाली भाषा-साहित्यमा उहाँले पुर्‍याएको अतुलनीय योगदानमाथि प्रकाश पारे।

यसै अवसरमा डा. मोहनप्रसाद दाहाल र अविकेश शर्माको संयुक्त सम्पादनमा प्रकाशित राष्ट्रियस्तरको ‘युगाग्रगामी’ शीर्षक ग्रन्थको लोकार्पण अवकाशप्राप्त चिकित्सक, विशिष्ट गायक तथा गीतकार डा. नारायणचन्द्र उपाध्यायले गर्नुभयो। लोकार्पणपछि वरिष्ठ साहित्यकार हरि लुइँटेलले ग्रन्थको समीक्षात्मक टिप्पणी प्रस्तुत गर्दै यसले नेपाली साहित्यमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। सहसम्पादक अविकेश शर्माले ग्रन्थ प्रकाशनको उद्देश्य, निर्माण प्रक्रिया तथा यसको पृष्ठभूमिबारे जानकारी गराउनुभयो।

कार्यक्रममा अर्जुन निरौला र वेददीप उपाध्यायले कविता वाचन गरेका थिए। साथै डा. सञ्जीव उपाध्याय, राजेन शर्मा, नित्य उपाध्याय, रामचन्द्र उपाध्याय, बृजलाल शर्मा, परशु छेत्री लगायतका विशिष्ट व्यक्तित्वहरूले जनकवि हरिभक्त कटुवालको साहित्यिक योगदान, नेपाली भाषा-साहित्यको संरक्षण तथा प्रवर्द्धन, र यस्ता सिर्जनात्मक कार्यक्रमहरूको आवश्यकतामाथि आ-आफ्ना विचार व्यक्त गरेका थिए।

कार्यक्रममा साहित्यप्रेमी, शिक्षक, बुद्धिजीवी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। समारोहले जनकवि हरिभक्त कटुवालप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा विकासप्रति सबैलाई थप प्रेरित गरेको आयोजकले जनाएको छ।

0 Comments

Post a Comment

Post a Comment (0)

Previous Post Next Post