कामी, दमाई र सार्की समुदायको सामाजिक-सांस्कृतिक अध्ययनका लागि शैक्षिक चिन्तन गोष्ठी सम्पन्न

कामी, दमाई र सार्की समुदायको सामाजिक-सांस्कृतिक अध्ययनका लागि शैक्षिक चिन्तन गोष्ठी सम्पन्न

असमका कामी, दमाई र सार्की समुदायको सामाजिक, सांस्कृतिक, आर्थिक, धार्मिक तथा शैक्षिक अवस्थाको विस्तृत अध्ययन गर्ने उद्देश्यले शनिबार गुवाहाटीको पल्टन बजारस्थित नन्दन होटलको सम्मेलन कक्षमा एक महत्वपूर्ण शैक्षिक चिन्तन गोष्ठी सम्पन्न भएको छ।

भारतीय कामी विकास परिषद्, असम राज्य समितिको पहल तथा परिषद्का मुख्य सचिव घनलाल विश्वकर्माको आह्वानमा आयोजित उक्त गोष्ठीको अध्यक्षता संस्थाका स्थायी अध्यक्ष छनवीर सुनारले गरेका थिए।

गोष्ठीमा असम सरकारको जनजाति तथा अनुसूचित जाति अनुसन्धान संस्थानका उप–सञ्चालक डा. असिम बराको अध्यक्षतामा एक अध्ययन समिति गठन गरिएको छ। कार्यक्रममा स्रोत व्यक्तिका रूपमा डा. विष्णु सिंह, डा. प्रीति घाटानी, डा. अनुप शेखर चक्रवर्ती तथा संगम घाटानी सहभागी भएका थिए। साथै विभिन्न उच्च शैक्षिक संस्थाका प्राध्यापक तथा शिक्षाविद्हरूको पनि उपस्थिति रहेको थियो।

गोष्ठीमा असमका गोर्खा समुदायअन्तर्गत पर्ने कामी, दमाई र सार्की समुदायको सामाजिक–सांस्कृतिक अवस्था, जातीय पहिचान, आर्थिक स्थिति तथा शैक्षिक विकासका विविध पक्षमाथि विस्तृत छलफल गरिएको थियो।

आगामी दिनमा यी समुदायहरूको समग्र अवस्थाबारे विस्तृत अध्ययन सञ्चालन गर्न गठित अध्ययन समितिलाई भारतीय कामी विकास परिषद्सँगै गोर्खा सार्की समाज र गोर्खा दमाई समाजले सक्रिय सहयोग गर्ने प्रस्ताव पनि पारित गरिएको छ।
कार्यक्रमको सफल आयोजनाका लागि परिषद्का सल्लाहकार प्रताप पन्थीप्रति विशेष आभार व्यक्त गरिएको थियो। कार्यक्रमको अन्त्यमा अध्यक्ष छनवीर सुनारले उपस्थित सम्पूर्ण प्रतिनिधि, सल्लाहकार तथा पदाधिकारीहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी अध्ययन कार्यलाई सफल बनाउन सबैको सक्रिय सहयोगको अपेक्षा व्यक्त गरे।

0 Comments

Post a Comment

Post a Comment (0)

Previous Post Next Post