आग्सु बाघमरा आञ्चालिक समितिद्वारा अमर सहिद बैजयन्ती देवी उपाध्यायको जन्मजयन्ती भव्य रूपमा पालन
अखिल असम गोर्खा छात्र संघ (आग्सु) विश्वनाथ जिल्ला समितिको निर्देशलाई शिरोधार्य गर्दै आज बाघमरा आञ्चलिक समितिको सहकार्य तथा बरझारणी शाखा समितिको सक्रिय पहलमा ऐतिहासिक असम आन्दोलनकी प्रथम महिला शहीद बैजयन्ती देवी उपाध्यायको पावन जन्मजयन्ती भव्य रूपमा पालन गरिएको छ।
कार्यक्रममा सहिद उपाध्यायको छाया चित्रमा दीप प्रज्वलन तथा माल्यार्पण गरी भावपूर्ण श्रद्धाञ्जली अर्पण गरियो। सो अवसरमा आयोजित विशेष सभामा वक्ताहरूले मातृभूमि र राष्ट्रका लागि उहाँले पुर्याउनुभएको अतुलनीय योगदान,त्याग र समर्पणको गम्भीर चर्चा गर्दै उहाँको गौरवमय इतिहासको स्मरण गरे। क्रान्तिका ती अमर पाइलाहरू र उहाँको सर्वोच्च बलिदान हाम्रा लागि सधैँ प्रेरणाको स्रोत बनिरहने प्रतिवद्धता सभामा व्यक्त गरियो।
सभामा उपस्थित नेतृत्ववर्गले "हामी सबैले हाम्रा वीर सहिदहरूको निस्वार्थ त्याग र बलिदानलाई सदैव मनन गर्दै उहाँहरूले देखाएको राष्ट्रभक्तिको बाटोमा हिँड्नुपर्ने" कुरामा विशेष जोड दिए।
यस कार्यक्रममा अखिल असम गोर्खा छात्र संघ बाघमरा आञ्चलिक समितिका सभापति पवन दाहाल,उप सभापति राज शर्मा,मूल सचिव हृत्तिक शर्मा र जिल्ला नेतृत्व अनुप शर्माको उपस्थिति रहेको थियो।त्यसैगरी,अविभक्त शोणितपुर जिल्ला समितिका पूर्व सभापति तथा वर्तमान आञ्चलिक समितिका सल्लाहकार घनश्याम प्याकुरेल,अविभक्त शोणितपुर जिल्ला समितिका प्राक्तन सांगठनिक सचिव सागर पौडेल,प्राक्तन आग्सुकर्मी तिलक राज पौडेलको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा बरझारणी शाखा समितिका सभापति लक्ष्यद्वीप शर्मा,भारप्राप्त मूल सचिव मनोज शर्मा लगायत शाखा समितिका विभिन्न तहका निष्ठावान कार्यकर्ता र स्थानीय जनमानसको उत्साहजनक सहभागिता रहेको थियो।
"शहीदहरूको त्याग र बलिदान – अमर रहोस् !"
"अमर शहीद बैजयन्ती देवी उपाध्याय – अमर रहून् !"
Post a Comment