नयाँ इतिहास कोरिँदैछ हिजोबाट डिब्रुगढको राजगढ़मा शङ्खनाद भयो गोर्खा सांस्कृतिक महोत्सव २०२६
जब संस्कृति समृद्ध हुन्छ, तब मात्र जातिको वास्तविक उन्नति र पहिचान सम्भव हुन्छ। खुकुरीको धार मादलको ताल र लोक संस्कृतिको सुगन्धले असम राज्य मग मग भएको छ। यहीँ भावनालाई आत्मसात गर्दै असमको ऐतिहासिक डिब्रुगढ जिल्लाको राजगढ़को पावन भूमिमा हिजोबाट तीन दिने कार्यसूचीका साथ गोर्खा सांस्कृतिक महोत्सव २०२६ भव्य रूपमा सुरु भएको छ।
गोर्खा उन्नयन परिषद असमको सक्रिय पहलमा, विभिन्न गोर्खा जातीय संघ-संस्था तथा सम्पूर्ण असमवासी जनताको अटुट सहयोगमा आयोजना गरिएको यस तीन दिने महोत्सवमा गोर्खा समुदायको वीरता बोकेको खुकुरीको संस्कार, मादलको तालमा गुन्जिने लोक-गीत, परम्परागत नृत्य, मौलिक भेषभूषा तथा गोर्खा भान्छाको स्वाद बोकेका विविध परिकारहरू प्रस्तुत गरिएका छन्।
यो महोत्सव केवल उत्सव मात्र होइन, हाम्रा पूर्वजहरूले सुम्पिएको अमूल्य संस्कृति, भाषा र पहिचानलाई नयाँ पुस्तासम्म पुर्याउने एउटा सशक्त प्रयास हो। तीन दिनसम्म चल्ने यस महोत्सवले गोर्खा समुदायको एकता, सांस्कृतिक चेतना र पहिचानलाई थप मजबुत बनाउने विश्वास लिइएको छ।
Post a Comment