पद्मश्री तथा साहित्य अकादेमी पुरस्कार प्रापक गीता उपाध्यायको भानु जयन्तीकै दिन निधन

पद्मश्री तथा साहित्य अकादेमी पुरस्कार प्रापक गीता उपाध्यायको भानु जयन्तीकै दिन निधन

 पद्मश्री तथा साहित्य अकादेमी पुरस्कारबाट सम्मानित वरिष्ठ साहित्यकार, शिक्षाविद्, अनुवादक तथा भारतीय गोर्खा परिसंघकी संस्थापक अध्यक्ष गीता उपाध्यायको सोमबार (जुलाई 13) राति 9.10 बजे 84 वर्षको उमेरमा तेजपुर चान्दमारी स्थित निज वासगृहमा निधन भएको छ। उमेरजन्य स्वास्थ्य समस्याबाट पीडित उहाँको निधन आदिकवि भानुभक्त आचार्यको 213 औँ जन्मजयन्तीकै दिन भएको हो, जसले नेपाली साहित्य जगतलाई थप भावुक बनाएको छ।
उहाँको निधनसँगै भारतीय नेपाली साहित्य, असमिया साहित्य, शिक्षा तथा अनुवादको क्षेत्रमा एक युगको अन्त्य भएको साहित्यकारहरूले बताएका छन्।

14 फेब्रुअरी 1939 मा असमको हाल विश्वनाथ जिल्लास्थित विहालीको माजगाउँ, गाङमौथानमा जन्मिनुभएकी गीता उपाध्याय असमका गोर्खा समुदायकी पहिलो स्नातकोत्तर महिलामध्ये एक हुनुहुन्थ्यो। उहाँले शिवसागर कलेजमा लामो समय राजनीतिशास्त्र अध्यापन गर्नुभएको थियो। नेपाली र असमिया भाषाबीच साहित्यिक तथा सांस्कृतिक सेतु निर्माणमा उहाँको योगदान अतुलनीय मानिन्छ।

उहाँका चर्चित कृतिहरूमध्ये ‘जन्मभूमि मेरो स्वदेश’ ले सन् 2016 को साहित्य अकादेमी (नेपाली) पुरस्कार प्राप्त गरेको थियो भने ‘दरबारकी सुसारे’ को अनुवादका लागि सन् 2012 मा साहित्य अकादेमी अनुवाद पुरस्कारबाट सम्मानित हुनुभएको थियो। भारत सरकारले उहाँलाई सन् 2025 मा पद्मश्री प्रदान गरेको थियो। भने हालैमा असम सरकारले सती साधनी बटा प्रदान गरेको छ।
कथा, निबन्ध, जीवनी, बालसाहित्य, अनुवाद र सम्पादन गरी दुई दर्जनभन्दा बढी कृतिमार्फत गीता उपाध्यायले भारतीय नेपाली र असमिया साहित्यलाई समृद्ध बनाउनुभएको छ। सेवा साधना संस्थाको प्रतिष्ठापक हुनुको साथ
हरिहर धाम सांस्कृतिक उन्नयन समिति पूर्वाञ्चलकी संरक्षक लगायत असम लेखिका समारोह कि सभनेत्री जस्ता धेरै सामाजिक अनुष्ठानसँग सम्बन्धित व्यक्तित्व गीता उपाध्याय एकजना सहज सरल राष्ट्र भाषा साहित्य संस्कृति प्रेमी हुनुहुन्थियो।
 उहाँका कृतिहरूले राष्ट्रप्रेम, सामाजिक चेतना, महिला सशक्तीकरण र भाषिक सहअस्तित्वको सशक्त सन्देश दिएका छन्।
गीता उपाध्यायको निधनप्रति साहित्यकार, सामाजिक अभियन्ता तथा विभिन्न संघ संस्थाले गहिरो शोक व्यक्त गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन्।

KNSG Live अनुप शर्माको प्रतिवेदन

0 Comments

Post a Comment

Post a Comment (0)

Previous Post Next Post