असम नेपाली साहित्य सभाको ऐतिहासिक उपलब्धि
‘माध्यमिक नेपाली शब्दकोष’ सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले)को करकमलबाट विमोचन।
असम नेपाली साहित्य सभाले नेपाली भाषा साहित्यको क्षेत्रमा अर्को ऐतिहासिक उपलब्धि हासिल गरेको छ। सिक्किम सरकारद्वारा आयोजित २१२ औँ राष्ट्रस्तरीय भानु जयन्ती समारोहमा प्रकाशित ‘माध्यमिक नेपाली शब्दकोष’ सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले)को करकमलबाट विमोचन गरियो।
सन् २०२३ का साहित्य अकादमी पुरस्कार प्रापक युद्धवीर राणाद्वारा तयार पारिएको यस शब्दकोष करिब तीन दशकको अध्ययन अनुसन्धानपछि तयार भएको हो। विद्यालय तहका विद्यार्थी, शिक्षक, अनुसन्धानकर्ता तथा नेपाली भाषाप्रेमीलाई लक्षित गरी असम नेपाली साहित्य सभाले यसलाई संस्थागत रूपमा प्रकाशन गरेको हो।
यस अवसरमा नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षणमा पुर्याएको योगदानको कदर गर्दै सिक्किम सरकारले असम नेपाली साहित्य सभालाई संस्थागत प्रशस्तिपत्र प्रदान गर्यो। साथै सभाका सभापति डा. चिन्तामणि शर्मा र महासचिवलाई सम्मानित गरिएको थियो। यो उपलब्धिले भारतीय नेपाली भाषा साहित्यको संरक्षण, संवर्द्धन र गुणस्तरीय शैक्षिक सामग्री निर्माणमा सभाको प्रतिबद्धतालाई थप मजबुत बनाएको छ।
Post a Comment